ऐना भित्रको एक चित्रण |
यो ऐना !
अहो! यो त म हो !
लौन, ऐना भित्र म भेटिए !
यो बिशाल आकाशमा,
मेरो शरिर ,
हात खुट्टा, टाउको इ. आकारमा ब्याप्त छु |
यो अविछिन्न दौडिरहेको आकृती |
हस्यांग फस्यांग श्वाश,
ढुक ढुक बम्किरहेको मुटु ,
मेरा आखा,
निरन्तर वरपरका बिम्ब बटुल्छन |
मेरा कान ,
निरन्तर वरपरका आवाज बटुल्छन |
ती आवाज र आकृतीका संग्रह भित्र भासिएको छु |
ती संग्रहित इतिहासका पत्रहरु,
मेरै सानिध्यका बखान हुन् |
यो भित्र-बाहिर गर्ने,
श्वाशमा छु म |
रगतमा निरन्तर बगीरहने,
उर्जामा छु म |
लौन यो ऐना भित्रको
चित्रमा भेटिए म !
म हराएको त्यो बिगत,
अहो ! बडो कठोर !
समयको अगाडि ठिंग उभिएर,
आफ्नो परिचय खोज्थे म |
समयले बेचैनसंग दौडाएको ,
अपुष्ट आकृती हू म |
हरपल मेरो भबिस्य ,
म भित्र छिर्छ |
निमेष भरिमै ,
बिगत भएर चुहिंछ |
भबिस्य र बिगतको दोसाधमा दौडिरहने,
वर्तमान आकृती हु म |
पालै पालो यो श्वाश ,
आकाश रित्याउछ |
घुट्की घुट्कीले समुन्द्र रित्याउछ |
गासका राशले पर्बत बनाउछ |
तिनै आकाश भरि छाएको छु म |
तिनै समुन्द्रमा फैलिएको छु म |
हरियो डांडाभरि छरिएको,
प्रकाश हू म |
यो ऐना भित्रको चित्र,
कसरि मेरो पहिचान हुन सक्छ !?
मेरो शरीर बनाउन उनिएका अणु-परमाणु ,
युगौ युग देखि यही छन् |
मिथ्या भएको छ यो शरिरे पहिचान ,
युगौ युग चल्नेछ यो,
पदार्थ र शक्ति को मन्थन |
यो ऐना,
सधै मलाई झुक्याउछ |
क्षणभंगुरका स्मृति ले ,
म परिभाषित हुदिन |
क्षमा माग्छु म मेरा साथी,
ऐना भित्र म भेटिएको होइन |